काठमाडौै, साउन ४ :

राष्ट्रिय भूमि समस्या समाधान समितिले सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाअन्तर्गत ३५ दिने सूचना जारी गर्दै आवेदन आह्वान गरेको छ।

समितिले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार जग्गा प्राप्त गर्न इच्छुक योग्य व्यक्तिले सम्बन्धित स्थानीय तहका वडामा खटिएका लगत संकलकमार्फत निर्धारित अवधिभित्र आवेदन दिनुपर्नेछ।

समितिका अनुसार यसअघि लगत सङ्कलनका लागि दुईपटक सूचना प्रकाशित भइसकेका स्थानीय तहमा यो अन्तिम अवसर हुनेछ। तोकिएको समयभित्र आवेदन नदिएपछि त्यसपछिका दाबी प्रक्रियामा समावेश नहुन सक्ने भएकाले सम्बन्धित लाभग्राहीलाई समयमै आवेदन दिन आग्रह गरिएको छ।

सरकारले पछिल्लो समय होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने दबाब बढ्दै गएपछि जग्गा वितरण प्रक्रियालाई तीव्रता दिएको हो।

बर्खायाममा नदी तथा खोला किनारमा बसोबास गर्ने सुकुम्बासीको ज्यान जोखिममा पर्ने अवस्थालाई मध्यनजर गर्दै सरकारले उनीहरूलाई जोखिमयुक्त बस्तीबाट स्थानान्तरण गरी अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखेको थियो। तर सुरक्षित विकल्पका रूपमा प्रयोग गरिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरसमेत वर्षाका कारण डुबानमा परेपछि त्यहाँ रहेका परिवारलाई भक्तपुरस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा स्थानमा स्थानान्तरण गरिएको छ।