काठमाडौं, साउन १२ :

सर्वोच्च अदालतले ड्राइभिङ लाइसेन्सको स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवा प्रवाहमा अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सुनौलो मेडिकल क्लिनिकका सञ्चालक काली बहादुर थापा समेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै साबिककै व्यवस्था अनुसार सेवा सुचारु राख्न भनेको छ ।

अदालतको आदेशले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको पछिल्लो निर्णय कार्यान्वयनमा रोक लागेको छ ।यो आदेशसँगै हाललाई ड्राइभिङ लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्दै आएका  क्लिनिकहरूको सेवा यथावत् रहने निश्चित भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका सबै चिकित्सकले गर्ने स्वास्थ्य परीक्षणलाई मान्यता दिने  निर्णय गरेको थियो ।