
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ अन्तर्गत कप्तानगञ्ज क्षेत्रमा जारी तनाव र कर्फ्युका बीच सुरक्षा निगरानी थप प्रभावकारी बनाउन काठमाडौँबाट ड्रोन पठाइएको छ।
कप्तानगञ्ज तथा आसपासका प्रभावित क्षेत्रको भित्री भागमा सुरक्षाकर्मी सहज रूपमा पुग्न नसक्ने अवस्था रहेकाले ती स्थानमा निगरानी बढाउन ड्रोन परिचालन गरिएको हो। कर्फ्यु जारी रहे पनि केही स्थानमा प्रदर्शन र झडपका घटना दोहोरिन थालेपछि सुरक्षा व्यवस्था थप सुदृढ बनाउन ड्रोन प्रयोगमा ल्याइएको जनाइएको छ।
गृहमन्त्री सुधन गुरुङको निर्देशनमा प्रहरी प्रधान कार्यालयमा रहेको ड्रोन मङ्गलबार राति नै सुनसरी पठाइएको हो। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार शंकास्पद गतिविधिमाथि निगरानी राख्न तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ड्रोन परिचालन गरिएको छ। उनले प्रहरी मुख्यालयबाट ड्रोन ल्याएर प्रभावित क्षेत्रमा निगरानी सुरु गरिएको जानकारी दिए।
यसैबीच, कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। मङ्गलबार साँझ भएको ढुङ्गा हानाहानपछि प्रहरीले सुनसरीसँगै आसपासका जिल्लाबाट थप सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी राखेको छ। आइतबार झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको छानबिन गर्न गठित समिति पनि घटनास्थल पुगेको छ। समितिले घटनाको वस्तुगत अध्ययन तथा आवश्यक प्रमाण संकलन सुरु गरेको जनाएको छ।