
देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडिसिडीको पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् ।
डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ ।
डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेङ्गु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् । यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।
यस्तै तनहुँमा दुई हजार एक सय सात,पर्वतमा एक हजार पाँच सय ६२,चितवनमा नौ सय ७१,ललितपुरमा आठ सय २७,गोरखामा ५ सय ८८,बाग्लुङमा छ सय १०,भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।
पोस्ट मनसुन सुरु हुँदा डेङ्गुको जोखिम बढ्ने सम्भावना धेरै हुने चिकित्सकहरु बताउछन् । लगत्तै अस्पताल आउने डेङ्गुका बिरामी बढिरहेका छन् ।
विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो ।
डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने,पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।
डेङ्गु सङ्क्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने चिकित्सकहरु बताउछन् । साथै झूलको प्रयोग गर्ने र जटिल लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिईएको छ ।