
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, गोठाटारस्थित पहेँलो पुल नजिक शनिबार राति भएको भीषण आगलागीबाट १४ वटा व्यवसायिक सटरमा क्षति पुगेको छ।
स्थानीय रवीन्द्र भट्टराईले सञ्चालन गर्दै आएको काठको गोदाम तथा सटरहरूमा विद्युत् सर्ट भई राति करिब ९:१५ बजे आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
आगलागीको सूचना प्राप्त हुनासाथ कागेश्वरी मनोहराको दमकल घटनास्थल पुगेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासी उद्धार तथा नियन्त्रण कार्यमा खटिएका थिए। आगो नियन्त्रणका लागि करिब १७५ जना प्रहरी परिचालन गरिएको थियो।
कागेश्वरी मनोहराकोसहित ९ वटा दमकल, ३ वटा पानी ट्यांकर र सुरक्षा निकाय तथा स्थानीयवासीको संयुक्त प्रयासमा राति करिब ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।
आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९, गोठाटार निवासी ३७ वर्षीय नरेश थापा घाइते भएका छन्। टहराको जस्ताबाट खसेर घाइते भएका उनको नगर अस्पताल, मूलपानीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, सुन्धारा पठाइएको छ।
आगलागीबाट ओम काष्ठ मिल उद्योग, रिकन्डिसन तथा हेल्मेट पसल, बासु फर्निचर, घिसिङ अटो रिकन्डिसन, रङ पसल, प्रेम गौतम रिकन्डिसन, मोबाइल पसल, हार्डवेयर, मिठाइ पसल, चिया पसल, हिमेश गौतमको फर्निचर पसल, चटपटे तथा किराना पसल तथा कस्मेटिक एवं स्टेशनरी पसलसहित १४ वटा व्यवसायिक सटरमा क्षति पुगेको प्रहरीले जनाएको छ।
आगलागीका कारण व्यवसायीहरूको ठूलो परिमाणमा भौतिक सम्पत्ति जलेर नष्ट भएको भए पनि कुल क्षतिको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।