शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश कर्णाली प्रदेश

जनताको सुरक्षा र विषम परिस्थितिको सामना गर्न नेपाल प्रहरी अग्रणी

· बुधबार, १ कात्तिक, २०८१ मा प्रकाशित
yamlal-kadel-karnali
सुर्खेत, कात्तिक १ :

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको सुरक्षा र मुलुकमा देखापरेका विषम परिस्थितिसँग समान गर्न नेपाल प्रहरी उच्च मनोबलका साथ खटिँदै आएको बताउनुभएको छ ।  

६९ औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले नागरिकको सुरक्षा सुनिश्चित गर्न आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरीको समर्पणभाव सबैको प्रेरणाको स्रोत रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा प्राप्त गरेको ख्याति हामी नेपाली र हाम्रो राष्ट्र नेपालका लागि पुँजी रहेको छ । सीमित साधन र श्रोतका बाबजुद यो पुँजी निर्माणमा राज्यले सुम्पेको जिम्मेवारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपाल प्रहरीले देखाएको कार्यकुशलताका लागि सिङ्गो प्रहरी सङ्गठनलाई म धन्यवाद दिन चाहन्छु ।”

मुलुकको विकास, समृद्धि र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरुरी रहेको चर्चा गर्दै उहाँले आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको  प्रहरीको भूमिका अहं हुने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री कँडेलले  भन्नुभयो, “नागरिकलाई कानुनी शासनको प्रत्याभूत हुने गरी  प्रहरी सबै खालका अवाञ्छित गतिविधि र गलत क्रियाकलाप नियन्त्रणमा पूर्ण सक्षम छ र सक्षम रहिरहनेछ भन्ने मलाई पूर्ण विश्वास लागेको छ । ”

बदलिँदो परिस्थितिमा सूचना प्रविधिको विकाससँगै अपराधका नयाँ/ नयाँ आयामहरू विकसित भइरहेको परिप्रेक्ष्यलाई दृष्टिगत गर्दै अपराध नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरी आगामी दिनमा प्रविधिमैत्री संयन्त्र र विधिको भरपुर उपयोग गर्न अझ सक्षम बन्नुपर्नेमा उहाँको जोड रहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार