नवलपरासी, साउन १७ :

पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काइदिएको छ। वर्षायाममा आउने पानीको भेल रोक्न स्थानीयवासीले शनिबार निर्माण थालेको १३२ मिटर लामो माटोको बाँध आइतबार भारतीय पक्षले भत्काएपछि विवाद उत्पन्न भएको हो।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालका अनुसार सहमतिअनुसार नेपाली पक्षले माटो राखेर अस्थायी बाँध निर्माण गरिरहेको अवस्थामा भारतीय एसएसबीका सुरक्षाकर्मी सादा पोसाक र हतियारसहित नेपालतर्फ प्रवेश गरी बाँध भत्काएका हुन्। स्थानीयवासीले त्यसको प्रतिवाद गरेका थिए।

‘सुस्ता बचाउ युवा अभियान’का संयोजक योगेन्द्र गौतमले भारतीय सुरक्षाकर्मी सीमा मानिएको सिमलको रूखबाट करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरेको दाबी गरे।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले वर्षाको भेल रोक्न निर्माण गरिएको अस्थायी बाँधका विषयमा विवाद भएको पुष्टि गर्दै अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरी परिचालन गरिएको छ।

यसअघि पनि गत असारमा भारतीय सुरक्षाकर्मीले सुस्ता क्षेत्रमा बाँध निर्माण रोक्न दबाब दिएको थियो। नेपाल–भारतबीच लामो समयदेखि विवादित सीमाक्षेत्रका रूपमा रहेको सुस्तामा यस घटनाले पुनः सीमा विवादलाई सतहमा ल्याएको छ।