
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा महिला तथा वृद्धवृद्धाहरूलाई त्रसित बनाउँदै श्रृंखलाबद्ध रूपमा सुनका सिक्री लुटपाट गर्ने ’कर्मा समूह’का नाइके र सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त गिरोहका नाइके कर्मा तामाङसहित पाँच जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको हो। विगत लामो समयदेखि काठमाडौँका सडकहरूमा ’चेन स्न्याचिङ’ (सिक्री लुटपाट) को आतंक मच्चाउँदै आएको यो समूहले विशेष गरी बिहान र बेलुकाको समयमा एक्लै हिँडिरहेका महिला तथा वृद्धाहरूलाई निशाना बनाउने गरेको थियो। लुटपाट गर्ने क्रममा प्रतिकार गर्न खोज्ने पीडितहरूलाई घाँटी थिच्ने, कुटपिट गर्ने र घाइते बनाउनेसम्मका निर्दयी गतिविधिमा यो समूह संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
समूहका नाइके ३४ वर्षीय कर्मा तामाङलाई पक्राउ गर्न प्रहरीले गोली नै प्रहार गर्नुपरेको बताइएको छ । कर्मा समूहले लुटपाटमा प्रयोग गर्नका लागि सुरुमा २२० सीसीका पल्सर मोटरसाइकलहरू चोरी गर्ने गरेको पाइएको छ। लुटपाट गरिसकेपछि उनीहरूले पुनः मोटरसाइकलको नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने र उक्त मोटरसाइकललाई उपत्यका बाहिर लगेर सस्तो मूल्यमा बिक्री गर्ने गरेको प्रहरीले बताएको छ। घटनास्थलबाट प्रहरीले एउटा मोटरसाइकल, एउटा खुकुरी, पाँच थान फरक–फरक नम्बर प्लेट र मोटरसाइकलको लक तोड्न प्रयोग गरिने मास्टर की र टी–लक समेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी बरिष्ठ उपरिक्षकदिलिप घिमिरेले जानकारी दिए।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भई बौद्ध बस्ने कर्मालाई पक्राउ गर्न प्रहरी टोलीले लामो समयदेखि निगरानी गरिरहेको थियो।कर्मा तामाङ यसअघि पनि पटक–पटक चोरी र डाँका मुद्दामा पक्राउ परेका र प्रहरी वृत्त स्वयम्भूको हिरासतबाट समेत फरार भएका थिए ।