काठमाडौं, साउन २२ :

संघीय संसदको बैठकलाई थप मर्यादित र व्यवस्थित बनाउन सांसदहरुलाई कालो चस्मा निषेध गरिएको छ । सभामुख डोलप्रसाद अर्यालको निर्देशनको पालना गर्नै शुक्रबारको बैठकमा मन्त्री र सांसदहरु कसैले पनि लगाएको देखिएन ।

सभामुख अर्यालले केही दिनअघि कालो चस्मा नलगाउन प्रमुख सचेतकहरूमार्फत् सन्देश पठाएका थिए ।साथै उनले कोटमा लोगो अनिवार्य हुनुपर्ने, बैठक चलिरहेका बेला अनावश्यक रूपमा बाहिर वा लबीमा नजान र बैठक चलिरहँदा सेयर किनबेचको कार्य नगर्न भनेका थिए।

प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरूङ र पूर्वाधार मन्त्री सुनिल लम्साललगायत केही सांसदहरु सधैं कालो चस्मा लगाएर संसद बैठकमा जाने गरेका थिए। कोही बैठक अवधिभर कालो चस्मा लगाएर बस्थे भने कसैको टाउकोमा हुन्थ्यो । गाडीको कालो सिसा परिवर्तन गरेजस्तै कालो चस्मा पनि परिवर्तन गर्नु पर्ने सदनमा आवाज उठेको थियो ।