
रास्वपा सांसद लिमा अधिकारीले नागरिकले भोग्नु परेको दु:ख कष्टप्रति सरकारको ध्यानाकर्ण गराएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले जनताहरु खाली ग्यास सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य पारिएको भन्दै सरकारको आलोचना गरिन्।
नागरिकले यस्तो सास्ती कहिलेसम्म भोगिरहनुपर्ने हो भन्दै सरकारलाई प्रश्न गरेकी हुन्। उनले भनिन्, ‘एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभ्याइएको छ। यो भन्दा ठूलो बिडम्बना अरु के हुन सक्छ?’
उनले ग्यासको सास्तीबाट नागरिकलाई साँच्चकै राहत दिने हो भने तत्काल इन्डक्सन चुलो बाँड्ने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएकी छन्। विद्युत् खपतमा लगाइएका नीतिहरूले वैकल्पिक इन्धनको प्रयोगलाई कतै निरुत्साहित त बनाएको छैन भन्ने उनको प्रश्न थियो ।सांसद अधिकारीले ग्यासको अभावका कारण नागरिकले सास्ती भोग्नुपरेको भन्दै छिटो भन्दा छिटो नागरिकको भान्सा सहज बनाउन सरकारसँग माग गरिन् ।