प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
नुर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा आज काठमाडौँमा आयोजित सम्मान तथा पुरस्कार समर्पण एवं कृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले साहित्य, कला र संस्कृति राष्ट्रका गहना भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबैको साझा भूमिका आवश्यक रहेको बताएका हुन्। उनले भने, “साहित्य, कला र संस्कृति भनेका देशका गहना हुन् । यस क्षेत्रको संरक्षण तथा सम्वद्र्धन गर्न म सधैँ तयार छु ।”
नेपाली भाषा, साहित्य, कला र संस्कृतिका कारण नेपाल विश्वमा परिचित रहेको उल्लेख गर्दै उनले देशका प्रतिभाको संरक्षण र सम्मान गर्नुपर्नेमा जोड दिए । “हाम्रा भाषा, साहित्य नै हाम्रो पहिचान हो”, उनले भने, “हामीले हाम्रा संस्कृतिको संरक्षण गर्नुपर्छ ।”
सभामुख अर्यालले मुलुकका विभिन्न स्थानमा रहेका तथा अझै उजागर हुन नसकेका प्रतिभा र साहित्यकारको खोजी गरी उनीहरूको प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा नुर–गङ्गा प्रतिभा पुरस्कार गुठीका अध्यक्ष प्रा डा गोविन्द नेपालले गुठीले नेपाली साहित्य क्षेत्रमा योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्दै आएको जानकारी दिए । उनले नेपाली साहित्यको विकास र प्रवर्द्धनका लागि गुठी निरन्तर सक्रिय रहेको बताए ।
कार्यक्रममा गुठीका कोषाध्यक्ष एवं सांसद विदुषी राणा, संरक्षक अमिरप्रताप जबरा, सल्लाहकार जानुकी राणा, निवर्तमान अध्यक्ष तथा सल्लाहकार प्रा डा चूडामणि बन्धुलगायतको सहभागिता थियो । सो अवसरमा विभिन्न साहित्यिक विधामा योगदान पुर्याएका १० जना स्रष्टालाई नगदसहित सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कृत तथा सम्मानित स्रष्टाहरूले साहित्य तथा लोकगीतका क्षेत्रमा आफूहरूले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएकामा खुसी व्यक्त गरेका थिए । उनीहरूले यस्ता पुरस्कार तथा सम्मानले नेपाली साहित्य र लोकसाहित्यका क्षेत्रमा नयाँ पुस्तालाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेका थिए ।