
फाइल तस्बिर ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विधि र विधानविपरीत चल्नेहरूलाई अनुशासनको दायरामा ल्याइने चेतावनी दिएका छन् ।
इलाममा आज आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्र अनुशासनहीनता र अराजकता बढेको बताए । नेतृत्व परिवर्तनका लागि पार्टीको निश्चित विधि, प्रक्रिया र समय हुने उल्लेख गर्दै उनले चिया गफ र क्यान्टिनका बैठकबाट महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर गरिएको हस्ताक्षर अभियानलाई अराजकताको पराकाष्ठा संज्ञा दिएका छन् ।
सिंगो पंक्ति एकजुट हुनुपर्नेमा आन्तरिक कलहमा लाग्नु आत्मघाती हुने भन्दै अध्यक्ष ओलीले पार्टीमाथि बाह्य शक्ति र विरोधीहरूले तीव्र प्रहार गरिरहेको बताए । केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासन र एकताका साथ अघि बढाइने उनको भनाइ थियो ।