काठमाडौं, भदौ ४ :

कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले अख्तियारको डरले स्पष्ट राय दिन र निर्णय गर्न हिचकिचाइरहेको बताएकी छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मन्त्री गौतमले  ऐन–कानुनमा स्पष्ट लेखिएका विषयहरूमा समेत कर्मचारीहरू अख्तियारको डरले स्पष्ट राय दिन र निर्णय गर्न हिचकिचाइरहेको बताइन्।

‘डिसिजन प्यारालाइिसस’ का कारण सरकारी कामकारबाही ठप्प हुने र सरकारले प्रभावकारी रूपमा काम गर्न नसक्ने जटिल अवस्था सिर्जना भएको उनले बताइन् ।

मन्त्री गौतमले अख्तियारलाई राजनीतिक प्रतिशोध, व्यक्तिगत रिसइबी वा कर्मचारी तर्साउने हतियारका रूपमा प्रयोग गर्न दिन नहुने धारणा राखिन् । सत्तामा जोसुकै आए पनि संवैधानिक निकाय कसैलाई ‘फसाउने’ वा कसैलाई ‘बचाउने’खेलको माध्यम बन्नबाट अख्तियार जोगाउनुपर्ने उनको भनाइ छ ।

उनले केवल उजुरी परेको भरमा वा कसैलाई तान्ने उद्देश्यले मात्र अभियोजन गर्न नहुने भन्दै उजुरी परेपछि तथ्य र प्रमाण संकलनमा व्यापक अध्ययन गर्नुपर्ने र पर्याप्त प्रमाण पुगेपछि मात्र मुद्दा दायर गर्नुपर्ने बताइन् ।

अख्तियारले आफ्नो व्यावसायिक चरित्र कायम राख्न सके सर्वसाधारण र प्रशासनको विश्वास जित्न सक्ने उनको भनाइ छ । उनले अख्तियारलाई स्वतन्त्र र निष्पक्ष राख्न सरकार प्रतिवद्ध रहेको बताइन् ।