काठमाडौं, भदौ ५ :

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समिति र सचिवालय विस्तार गरेको छ ।

पार्टी कार्यालय वनस्थलीमा शुक्रबार बसेको  केन्द्रीय समिति बैठकले केन्द्रीय सचिवालयमा ११ जनालाई मनोनयन गर्ने निर्णय गरेको हो । जसमा शिशिर खनाल, गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, विराजभक्त श्रेष्ठ, मनोहर प्रधान, लिमा अधिकारी, जगदीश खरेल(ललितपुर), समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर र मनिष झालाई सचिवालय सदस्यमा मनोनीत गरेको हो ।

साथै बैठकले केन्द्रीय समितिमा सुनिल लम्साल, भूपदेव साह, सुधन गुरुङ , प्रतिभा रावल, पुरुषोत्तम यादव, मनोहर प्रधान, बसुमाया तामाङ, भक्तबहादुर राई र सुरेन्द्र चौधरीलाई मनोनित गरेको छ भने पार्टी प्रवक्तामा जगदीश खरेल तथा सह–प्रवक्तामा सुरेन्द्र चौधरी र डा.नमिता यादवलाई मनोनीत गरिएको रास्वपा नेता मनिष झाले जानकारी दिए ।

साथै बैठकले सहमहामन्त्रीमा पुरुषोत्तम यादव, कोषाध्यक्षमा मनोहर प्रधान र सह–कोषाध्यक्षमा बसुमाया तामाङलाई मनोनीत गरिएको उनले बताए । त्यस्तै बैठकले सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा विजय जैरु,  जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, अन्तर्राष्ट्रिय समन्वय विभागको प्रमुखमा शिशिर खनाललाई मनोनित गरेको छ भने अर्थ विभागमा लिमा अधिकारी, संगठन विभागमा प्रमोद न्यौपाने र  प्रशिक्षण विभागको कार्यवाहक प्रमुखमा महामन्त्री विपिन आचार्यलाई मनोनित गर्ने निर्णय गरेको नेता झाले बताए ।

त्यस्तै बैठकले स्थानीय तह निर्वाचनलाई लक्षित गरी विभिन्न पालिका तथा जिल्लाहरूको जिम्मेवारी केन्द्रीय सदस्यहरूलाई बाँडफाँड गर्न सहमहामन्त्री निशा डाँगीको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलले नै स्थानीय तह निर्वाचनको तयारीका लागि नेता तथा सांसदहरूको कार्यक्षेत्र तोक्ने निर्णय भएको नेता झाले बताए ।