
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले बलात्कारजस्ता जघन्य अपराधमा दोषी ठहरिएकालाई आजीवन कारावासभन्दा पनि मृत्युदण्डको व्यवस्था गर्न माग गरेकी छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले पछिल्लो समय महिला तथा बालबालिकामाथि हिंसा र बलात्कारका घटना बढिरहेको भन्दै यस्ता अपराध नियन्त्रणका लागि राज्यको दण्ड प्रणाली कडा र प्रभावकारी हुनुपर्ने बताइन्। बलात्कारपछिका हत्या र हिंसाका घटनालाई रोक्न राज्यको दण्ड प्रणाली अत्यन्तै डरलाग्दो हुनुपर्ने जनाउँदै उनले भनिन् ‘ जसले गर्दा अपराधीले अपराध गर्नसमेत डर मानोस्।’
नेपालको संविधानले मृत्युदण्डको सजायसम्बन्धी कानुन बनाउन निषेध गरेको उल्लेख गर्दै उनले नेपाली छोरीहरूको जीवन र सुरक्षाभन्दा ठूलो कुनै अन्तर्राष्ट्रिय प्रोटोकल हुन नसक्ने तर्क गरिन्।
उनले भनिन्, “आजको बहस बलात्कारीलाई कति वर्ष जेल हाल्ने भन्ने होइन, यस्ता जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था किन नगर्ने भन्ने हो।”
अन्तर्राष्ट्रिय प्रतिबद्धता न्यायको बाटोमा बाधक भए सरकारले त्यसको पुनरावलोकन गर्ने साहस गर्नुपर्ने उनको भनाइ थियो। अपराधीको मानवअधिकारको कुरा गरिँदा पीडितको जीवन र अधिकारको विषयलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने ओलीले बताइन्।