
अपाङ्गता भएका विद्यार्थीलाई विद्यालय शिक्षापछि व्यावसायिक तथा प्राविधिक शिक्षामार्फत रोजगारी र आत्मनिर्भर जीवनसँग जोड्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
चाङवोन राष्ट्रिय विश्वविद्यालयको अन्तर्राष्ट्रिय सहकार्य अगुवा विश्वविद्यालय सहयोग परियोजना (लुपीक) र नेपालका चार साझेदार विश्वविद्यालयको सहकार्यमा आयोजित संयुक्त कार्यशालामा सहभागी विज्ञहरूले यस्तो धारणा राखेका हुन्।
‘विशेष शैक्षिक आवश्यकता भएका विद्यार्थीहरूका लागि वृत्ति तथा प्राविधिक शिक्षाको दिशा र रणनीति’ विषयक कार्यशालामा नेपालमा अपाङ्गता भएका विद्यार्थीको व्यावसायिक तथा प्राविधिक शिक्षाको अवस्था, विद्यमान नीतिगत व्यवस्था र आगामी रणनीतिबारे छलफल गरिएको थियो।
कार्यशालामा प्राध्यापक ही-चान पार्कले नेपालमा अपाङ्गता भएका व्यक्तिको वृत्ति तथा प्राविधिक शिक्षासम्बन्धी कानुनी तथा नीतिगत व्यवस्थाको समीक्षा गर्दै दक्षिण कोरियाका विशेष विद्यालयमा सञ्चालन भइरहेका प्राविधिक शिक्षाका अभ्यास प्रस्तुत गरे।
उनले विशेष विद्यालयमा प्राविधिक शिक्षाको पाठ्यक्रम तथा सञ्चालन पद्धतिमा सुधार गर्नुपर्ने, अपाङ्गताको प्रकार र गम्भीरताका आधारमा व्यक्तिगत वृत्ति मार्ग निर्धारण गर्नुपर्ने तथा ‘रूपान्तरण शिक्षा’मा आधारित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।
त्यस्तै, विशेष शिक्षा शिक्षकको पेशागत दक्षता अभिवृद्धिका लागि तालिमलाई प्रभावकारी बनाउने, शिक्षक उत्पादनको पाठ्यक्रम समयानुकूल परिमार्जन गर्ने, स्थानीय संघसंस्था तथा उद्योगसँग सहकार्य गरी स्थलगत तालिम र प्रयोगात्मक अभ्यास विस्तार गर्ने तथा अपाङ्गता भएका विद्यार्थीका लागि रोजगारीका अवसर बढाउनुपर्ने उनको सुझाव थियो।
प्राध्यापक पार्कले अपाङ्गता भएका विद्यार्थीका लागि प्राविधिक शिक्षा सीप सिकाउने कार्यक्रममै सीमित हुन नहुने बताए। विद्यालय तहदेखि वयस्क अवस्थासम्म शिक्षा, सीप, रोजगारी र आत्मनिर्भरतालाई जोड्ने गरी व्यवस्थित रूपान्तरण शिक्षा आवश्यक रहेको उनको भनाइ थियो। विद्यार्थीको क्षमता, रुचि, अपाङ्गताको अवस्था तथा पारिवारिक र सामाजिक परिवेशलाई आधार बनाएर व्यक्तिगत योजना बनाउनुपर्ने उनले बताए।
कार्यशालामा नेपाल सरकारका पूर्वसहसचिव डा. कमलप्रसाद पोखरेलले नेपालमा अपाङ्गता भएका व्यक्तिका लागि प्राविधिक शिक्षा नीतिबारे प्रस्तुति दिए। उनले अपाङ्गता भएका व्यक्तिको शिक्षा र रोजगारीको अधिकार व्यवहारमै सुनिश्चित गर्न सरकार, विश्वविद्यालय, विद्यालय, समुदाय र उद्योगबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
नेपालको विशेष शिक्षा सहायता परियोजना स्थानीय साझेदार विश्वविद्यालय तथा सम्बन्धित निकायसँगको समन्वयमा अघि बढिरहेको जनाइएको छ। परियोजना व्यवस्थापक युन-योङ किमको नेतृत्वमा परियोजनाअन्तर्गत विशेष शिक्षा शिक्षक उत्पादन तथा शैक्षिक पूर्वाधार निर्माणका काम अघि बढाइएको आयोजकले जनाएको छ।
सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक यज्ञराज पाण्डेले परियोजना व्यवस्थापक किमको स्थलगत समन्वय र व्यवस्थापकीय क्षमताका कारण साझेदार विश्वविद्यालयबीच सहकार्य बलियो बनेको बताए।
“स्थानीय परिवेशअनुसार विशेष शिक्षा शिक्षक उत्पादन र शैक्षिक पूर्वाधार निर्माणका काम प्रभावकारी रूपमा अघि बढिरहेका छन्,” उनले भने, “अपाङ्गता भएका विद्यार्थीको शैक्षिक अधिकार र आत्मनिर्भरता सुनिश्चित गर्न आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिनेछौँ।”
कार्यशालामा सहभागीहरूले अपाङ्गता भएका विद्यार्थीलाई विद्यालय शिक्षापछि व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड्ने प्रभावकारी प्रणाली, शिक्षकको क्षमता विकास, रोजगारीसँग शिक्षालाई जोड्ने उपाय तथा स्थानीय तहमा उपलब्ध स्रोत र अवसरको उपयोगबारे छलफल गरेका थिए।