काठमाडौं, भदौ २४ :

नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गतेको घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्। 

बीपी स्मृति दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश दिँदै सभापति थापाले २३ गते शान्तिपूर्ण आन्दोलनमाथि भएको राज्य दमन र २४ गते निजी तथा सार्वजनिक संरचनामा भएको ध्वंसबारे छानबिन गरी कारबाही गर्न माग गरेका हुन् । सरकारले भदौ २४ गतेको घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै उनले अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न गरे?

भदौ २४ गते आफ्नो घरसमेत जलेको स्मरण गर्दै घटनामा ज्यान गुमाएका र घाइते भएका युवाको पीडाभन्दा आफ्नो पीडा ठूलो नरहेको बताए। आन्दोलनमाथि भएको दमन, घुसपैठ गरी हिंसा भड्काउनेहरूको पहिचान गरी कारबाही गर्न ढिलो गर्न नहुने उनको भनाइ थियो।  

भदौ २४ गतेको आगजनीमा सिंहदरबार,संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालयलगायत सार्वजनिक सम्पत्ति र  होटल, सपिङ सेन्टर, गाडी शोरुमलगायत निजी सम्पत्तिमा पनि आगजनी गरी क्षति पुर्याइएको थियो ।