
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापासहितका ४ सांसद पदमुक्त नहुने भएका छन् ।
राप्रपाले बागमती प्रदेशसभाका आफ्ना ४ जना सांसदलाई पदमुक्त गर्न गरेको सिफारिसलाई बागमती प्रदेशसभा सचिवालयले अस्वीकृत गरेको छ। प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले कानुनी प्रक्रिया र प्राकृतिक न्यायको सिद्धान्त विपरीत रहेको ठहर गर्दै उनीहरू पदमुक्त नहुने निर्णय गरेकी हुन्। राप्रपाका ती सांसदहरूले संसदीय दलको ह्विप उल्लंघन गरेको पुष्टि हुने आधार नदेखिएको उपसभामुखको निर्णयमा उल्लेख छ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयका आधारमा थापासहित सांसदहरू राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिलाई पदमुक्त गर्न पत्र पठाइएको थियो । जसअनुसार उनीहरुलाई पदमुक्त गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए। पत्रहरू अध्ययन गर्दा कारबाहीको कानुनी आधार र प्रक्रिया नपुगेको जनाइएको छ।
मुख्यमन्त्री किरण थापा नेतृत्वको सरकारलाई सहयोग गरेको र सहभागी भएको विषयलाई लिएर राप्रपा अध्यक्ष लिङ्देनले चार सांसदमाथि गरेको कारबाही तत्कालका लागि असफल भएको छ।