काठमाडौं, भदौ २४ :

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले वर्तमान सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएकी छन्।

बालकोटस्थित ओली निवासमा भएको घटनालाई समेटेर तयार पारिएको ‘स्मृतिमा बालकोट घर: सपनाको भग्नावशेष’ स्मृति पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै शाक्यले ‘खरानी ग्याङ’ र ‘टीओबी ग्याङ’को नेतृत्वमा वर्तमान सरकार बनेको बताइन् ।

सुधन गुरुङ गृहमन्त्री बनेको खबर आएलगत्तै आफूले ओलीलाई तत्काल गिरफ्तार गरिने शंका गरेको उनले बताइन्। उनले भनिन्, ‘खरानी ग्याङले सम्मानको अर्थ नबुझ्नु स्वाभाविकै हो। उनीहरूलाई सम्मान भनेको के हो भन्ने सायद थाहा छैन।’

ठुलो संख्यामा प्रहरी परिचालन गरेर रातको समयमा बालकोट क्षेत्रलाई घेराबन्दी गरी पूरै गाउँ नै कब्जा गरेर ओली र लेखकलाई गिरफ्तार गरिएको शाक्यले दाबी गरेकी छन्। उनले उक्त घटनालाई प्रतिशोधको राजनीतिको संज्ञा दिएकी छन्।