काठमाडौं, भदौ २९ :

तीजका अवसरमा पशुपतिनाथ लगायतका शिवालयहरुमा पूजाआजा गर्ने भक्तजनको लामो लाइन लागेको छ । मौसमका कारण दर्शनार्थीहरु घटबढ हुने गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले बताए । बिहान १० बजेसम्म लाममा बसेको आधा घण्टामै दर्शन गरेर भक्तजन फर्किए पनि अहिले भने लामो लाइनका कारण केही समय लाग्ने गरेको छ ।

भोटेकोसी बाढीले सयौंको ज्यान लिएको छ भने थुप्रै व्यक्ति सम्पर्कविहीन भएका छन् । यतिबेला मृतकका आफन्तजन मात्र नभई सिङ्गो देश नै शोकमा डुबेको छ ।यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा एक्कासी आएको बाढीका कारण एक हजार ३०० भन्दा बढीको निधन भएको र करिब चार हजार मानिस हराइरहेको शोकका कारण शिवालयमा आउने भक्तजनको सङ्ख्या घटेको धार्मिक पण्डितहरु बताउँछन् ।

तीजका अवसरमा राजधानीका गोकर्णेश्वर, नागेश्वर, त्रिपुरेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने वसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वरलगायत काठमाडौँ उपत्यकाका ठूला, साना शिवालयमा भक्तजनको लाम लागेको छ । यसैगरी देशका विभिन्न स्थानमा रहेका साना, ठूला शिवालयमा  पूजा, आराधाना एवं दर्शनका लागि महिला दर्शनार्थी भक्तजनको घुइँचो रहेको जनाइएको छ ।