
भारी वर्षाका कारण सोमबार दिउँसो मनोहरा खोलामा आएको बाढीले नदी किनारका बस्ती डुबानमा परेको छ। खोलाको पानी घर तथा टहरामा पसेपछि जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
वर्षाका कारण मनोहरा खोलामा पानीको बहाव आजसम्मकै उच्च भएको स्थानीयले बताएका छन्। बाढीले नदी किनारका विभिन्न क्षेत्रमा असर पारे पनि हालसम्म मानवीय क्षति भने नभएको बताइएको छ।
प्रहरीले जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सार्नुका साथै सम्भावित क्षति रोक्न निगरानी बढाएको छ। यद्यपि, पछिल्लो समय वर्षा कम हुँदै गएपछि मनोहरा खोलाको बहावसमेत घट्न थालेको छ।
यसैबीच कागेश्वरी मनोहरा नगरपालिकाले भारी वर्षापछि सूचना जारी गर्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नगरपालिकाले विशेषगरी वडा नम्बर ४, ५, ६ र ७ लगायतका विभिन्न क्षेत्रमा भारी वर्षाका कारण डुबान भएको जनाएको छ।
नगरपालिकाले नदी, खोला, खोल्सा तथा डुबान हुन सक्ने जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान र सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
सम्भावित विपद्का घटनामा उद्धार तथा आवश्यक सहयोगका लागि नगरपालिकाले नगर प्रमुख उपेन्द्र कार्की, नगर प्रहरी सुविन कार्की र विपद् शाखाका हरि धितालको मोबाइल नम्बरसमेत सार्वजनिक गरेको छ।