
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयमा राहत वितरणलाई प्रभावकारी बनाइने बताउनुभएको छ ।
नेपाली काँग्रेस ललितपुर प्रतिनिधिसभा क्षेत्र नं २ समितिले बाढीपहिरोले पुर्याएको क्षति र यसपछिको राहत, पुनःस्थापना, पुनःनिर्माणका विषयलाई सम्बोधन गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै आज उहाँले तीन वटै तहले दिने राहतका लागि कार्यविधि बनाएर काम गर्ने बताउनुभयो ।
राहतका लागि पालिकाहरूलाई तत्कालै २० लाख र १५ लाख उपलब्ध गराइएको जनाउँदै मृत्यु भएका परिवारलाई एक लाख जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराएका उहाँले बताउनुभयो ।
राहत तथा उद्धारका लागि १३ जिल्लाका लागि पाँच लाखका दरले जिल्ला प्रशासन कार्यालयमा रकम पठाइएको पनि उहाँले जानकारी दिनुभयो ।
उहाँले प्रमाणीकरण भएपछि मृत्यु भएका बागमती प्रदेशभित्रका स्थायी बासिन्दा परिवारलाई थप एक लाख उपलब्ध गराउने समेत बताउनुभयो।
मुख्यमन्त्री लामाले सबै जिल्लाबाट भौतिक र मानवीय क्षतिको विवरण प्राप्त भएपछि तथ्याङ्कअनुसार आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।
त्यस अवसरमा ललितपुर क्षेत्र नं २ का प्रदेशसभा सदस्य एवं संविधानसभा सदस्य रामकृष्ण चित्रकार, नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्साललगायत नेपाली कङ्ग्रेसका ललितपुर क्षेत्र नं २ का नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
नेपाली काँग्रेस ललितपुर प्रतिनिधिसभा क्षेत्र नं २ का सभापति महेश खड्काले १० वटै वडा र ललितपुर महानगरको ७, ८, ९ र १७ अत्यन्तै प्रभावित भएको अवगत गराउँदै महालक्ष्मी नगरपालिकालाई बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार विपद् ग्रस्त पालिका घोषणा गर्न छुट हुन गएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।