काठमाडौं, असोज २ :

विसं २०४६ मा प्रजातन्त्र पुनः स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् । 
 
नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गर्नुभएको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्ण प्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए । 
    
विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मेका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे । 
    
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका थिए। 
 
विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा काराबास जीवन बिताए।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे । विसं २०३३ मा बीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्था विरुद्ध सक्रिय रहे ।