रसुवा, असोज २ :

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट ६ जनाको शव निकालिएको छ। आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले शुक्रबार ६ वटा शव निकालेको हो।  ग्राइन्डर, ग्याँस कटर र रोटरी रेस्क्युको प्रयोग गरी शव बाहिर निकालिएको छ। टनेलभित्र ढलान गर्नका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेको अवस्थामा शव फेला परेको थियो।

बाढीका कारण सम्पर्कविहीन भएका उक्त आयोजनाका कर्मचारी तथा कामदारको खोजी गर्ने क्रममा ती शव फेला परेको नेपाली सेनाले जनाएको छ। उक्त आयोजनामा कार्यरत ४९२ जना सम्पर्कविहीन छन् भने ९३६ जना सम्पर्कमा आइसकेका छन्। आयोजनामा कुल १ हजार ४३३ जनशक्ति कार्यरत थिए। बाढीबाट उक्त आयोजनाका मानिस सबैभन्दा धेरै सम्पर्कविहीन छन्।