
राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भएको आगलागी तथा बाराकी बालिका गरिमा चौधरी र नवलपरासीकी उनीमाया विकको हत्यासम्बन्धी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
बैठकको शून्य समयमा सदस्य विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा दिनप्रतिदिन आगलागीका घटना बढिरहेको भन्दै यसको न्यायिक छानबिन गर्न माग गरे । सदस्य पूजा चौधरीले बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्यामा संलग्नलाई केही व्यक्तिलाई सामान्य तारेखमा छाडिएको भन्दै त्यससम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरिन् ।
सदस्य रुक्मिणी कोइरालाले नवलपरासीको विनय त्रिवेणी गाउँपालिका-३ मा शेरबहादुर विकले तीजका दिन श्रीमती उनीमायाको हत्या गरेको जनाउँदै उक्त घटनाको छानबिन गर्न माग गरिन् । सदस्य श्रीकृष्णप्रसाद अधिकारीले भोटेकोशी बाढीबाट प्रभावित रसुवाको आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिकामा तत्काल दैनिक उपभोग्य वस्तु, लत्ताकपडा र औषधिको सहज आपूर्ति गर्न र सडक सञ्जाल पुनः जोड्न सरकारको ध्यानाकर्षण गराए ।