असोज ३ :

बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु हुँदैछ । प्रतियोगिता ४ अक्टोवर (असोज १८ गते) सम्म आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन समारोह आजै नागोया सिटी मिजुहोपार्क एथलेटिक खेल मैदानमा हुनेछ । समारोह स्थानीय समयअनुसार आज साँझ ६ः०० बजे सुरु हुनेछ । प्रतियोगिताका केही खेल भने उद्घाटन समारोहअघि सुरु भइसकेका छन् ।

नेपालबाट १३५ खेलाडीको सहभागिता

यस संस्करणको एसियाली खेलकुदमा नेपालबाट २१ खेलमा १३५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालबाट सहभागी हुने खेलाडीमा ५७ महिला र ७८ पुरुष जनाउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले टोलीमा खेलाडीबाहेक प्रशिक्षक, व्यवस्थापक, प्राविधिक तथा मेडिकल प्रतिनिधिसहित २११ जना रहने बताए । उनका अनुसार यसपटक छनोट प्रक्रियाका कारण अघिल्लो संस्करणको तुलनामा नेपालको खेलाडी सङ्ख्या घटेको हो ।

सन् २०२३ मा चीनको हाङ्झाउमा भएको एसियाली खेलकुदमा नेपालबाट २५३ खेलाडी सहभागी भएका थिए । सदस्यसचिव मेहताका अनुसार नेपालबाट कबड्डीमा सबैभन्दा बढी २४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा आठ तथा बक्सिङमा सात खेलाडी सहभागी हुँदैछन् ।

साथै एथलेटिक्स, जुडो, टेबलटेनिस र कुस्तीमा छ-छ तथा पौडी र टेनिसमा पाँच-पाँच खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । यस्तै ब्याडमिन्टन, गल्फ र सफ्ट टेनिसमा चार-चार, तेक्वान्दोमा तीन तथा आर्चरी, साइक्लिङ, र्‍याफ्टिङ एण्ड क्यानोइङ, स्केट एण्ड स्केट बोर्डिङ र स्क्वासमा दुई-दुई खेलाडीले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए ।

उद्घाटन समारोहमा बक्सिङका चन्द्रबहादुर थापामगर र कबड्डीकी मानमती विष्टले नेपालको राष्ट्रिय झण्डा बोक्नेछन् । थापामगरले गत वर्ष दुबईमा भएको विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए भने विष्टको कप्तानीमा नेपाली महिला कबड्डी टोलीले सन् २०२३ को हाङझाउ एसियाली खेलकुदमा कास्य पदक जितेको थियो ।

नेपालले यसपटक एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्य राखेको छ । आइची-नागोया एसियाली खेलकुदमा ४३ खेल समावेश छन् । प्रतियोगितामा ४५ देश तथा क्षेत्र र एक शरणार्थी टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।