काठमाडौं, असोज ५ :

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले ग्यास आपूर्ति सहज बनाउन ’क्विक रेस्पोन्स टिम’ गठन गरी परिचालन गरिएको बताएका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री शाहले ग्यास वितरणमा समस्या देखिएपछि गुनासो सम्बोधन तथा सहजीकरणका लागि ’क्विक रेस्पोन्स टिम’ गठन गरी परिचालन गरिएको र अब क्रमशः ग्यासको अभाव हट्दै जाने दाबी समेत गरे ।

आयात निर्भरता, अन्तर्राष्ट्रिय मूल्यवृद्धि, भण्डारण र रिफिलिङको समस्या, डिलरहरूको असमान वितरण, खाली सिलिन्डर फिर्तामा ढिलाइ, कालोबजारी, डिजिटल ट्र्याकिङको अभाव तथा अन्तरनिकाय समन्वयको कमी भएका कारण ग्यासमा अभाव देखिएको मन्त्रालयको निष्कर्ष रहेको उनले बताए । उनले बढ्दो माग र चाडपर्वलाई लक्षित गरी ३ महिनासम्म प्रतिमहिना ६० हजार मेट्रिक टन ग्यास उपलब्ध गराउन भारत सरकारसँग औपचारिक पत्राचार गरिएको जानकारी दिए ।

मन्त्री शाहले आपूर्ति व्यवस्थालाई दिगो बनाउन मन्त्रालयभित्र आन्तरिक समिति गठन गरी आवश्यक मार्गनिर्देशन तयार गर्न लागिएको उल्लेख गरे । दीर्घकालीन आपूर्ति व्यवस्थापन, पूर्वाधार विकास र वैकल्पिक समाधानका लागि नीतिगत योजना निर्माण गर्न राष्ट्रिय योजना आयोगलाई औपचारिक पत्राचार गरिएको समेत उनले बताए ।