
नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन गरेको छ ।
कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापनका सन्दर्भमा यसअघि नै पार्टी सभापति गगनकुमार थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको थियो ।
उक्त निर्णयअनुसार महाधिवेशनका विभिन्न समितिबीच समन्वय, सहजीकरण तथा व्यवस्थापनका विषयमा आवश्यक निर्णय गर्न १५औँ महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरिएको हो ।
सभापति थापाको संयोजकत्वमा रहेको केन्द्रीय निर्देशन समितिमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, सुवासकुमार पोख्रेल र सपना राजभण्डारी सदस्य रहनुभएको छ । उक्त समितिको सदस्यसचिव र प्रमुख राजनीतिक सल्लाहकारमा प्रताप पौडेललाई तोकिएको छ ।
त्यस्तै, महाधिवेशन व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन समितिको संयोजकमा कोषाध्यक्ष उमेश श्रेष्ठलाई जिम्मेवारी दिइएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
यसैगरी, सूचना, सञ्चार तथा प्रविधि समितिको संयोजकमा प्रवक्ता देवराज चालिसे रहेका छन् भने समितिमा केन्द्रीय सदस्यद्वय हरिशरण नेपाली र अजयबाबु शिवाकोटी, डा सुरेश आचार्य, शिव लम्साल, मोहन गजुरेल र शशाङ्कश्री न्यौपाने रहेका छन् ।
सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिको संयोजकमा उदयशमशेर राणालाई तोकिएको छ । उक्त समितिमा केन्द्रीय सदस्य नानु वास्तोला, प्रकाश पन्थ, मुना भुषाल, निपा चोखाल, ममता शर्मा, जानकी गुरुङ, डा सङ्गिता कार्की कुँवरलगायत रहेका छन् । उक्त समितिमा काठमाडौँ, ललितपुर र भक्तपुरका प्रतिनिधिसहित प्रत्येक प्रदेशबाट प्रदेश सभापतिको परामर्शमा एक–एक जना सदस्य रहने व्यवस्था गरिएको छ ।
त्यसैगरी, अतिथि स्वागत समितिको संयोजकमा सहमहामन्त्री डा डिला सङ्ग्रौला पन्त छन् । महाधिवेशन समारोहस्थल व्यवस्थापन समितिको संयोजकमा काठमाडौँ जिल्ला सभापति तथा प्रदेश र स्थानीय तहगत समन्वय समितिको संयोजकमा सहमहामन्त्री बहादुरसिंह लामा तोकिएका छन् ।
यस्तै, जेष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समितिको संयोजकमा सुधीर शिवाकोटी र स्वयम्सेवक व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य गणेश लामालाई तोकिएको छ । भोजन व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य तिलक रानाभाट, आवास व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य रमेशप्रसाद धमला, स्वास्थ्य समितिको संयोजकमा केन्द्रीय सदस्य डा केदारनरसिंह केसी र यातायात व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य विजयबहादुर स्वाँरलाई जिम्मेवारी दिइएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
सांस्कृतिक–साहित्यिक संयोजन समितिको संयोजकमा केन्द्रीय सदस्य सिता गुरुङ रहनुभएको छ । उक्त समितिमा नेपाल सांस्कृतिक महासङ्घ र नेपाली लेखक सङ्घका अध्यक्षसहित दुर्गा रायमाझी, प्रकाश लामिछाने र विपिन किरण सदस्य रहेका छन् ।
यसैगरी, विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई थप गरिएको कांग्रेसले जनाएको छ । कांग्रेसले महाधिवेशनसँग सम्बन्धित सबै समितिले आ–आफ्नो कार्यविवरणअनुसार प्रभावकारी रूपमा काम गर्ने र आपसी समन्वयमार्फत १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले समिति गठन गरिएको जनाएको छ ।