
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।
सुस्ता बस्तीमा पानी पस्न सुरु भएलगतै विपद् उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।
नारायणी नदीमा आएको बाढी सुस्ता पसेपछि सुस्ताका अधिकांश घर डुबानमा परेका सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालले बताएका छन् । शुक्रबार दिउँसोदेखि लगातार परेको वर्षाले यहाँका १०० भन्दा बढी घर डुवानमा परेका उनले जानकारी दिए ।
उनका अनुसार यहाँ २२० परिवार बसोबास गर्दै आएका छन् । सुस्ताका थारू टोलमा सबैभन्दा पहिला बाढी पसेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बाढी पसेका घरका नागरिकलाई सुस्तामा रहेको आश्रयस्थलमा राखिएको बताउनुभयो । नारायणी नदीमा पानीको सतह निरन्तर बढिरहेकाले महिला, बालबालिका, वृद्धवृद्धा तथा शारीरिक रूपमा कमजोर रहेकालाई नारायणी नदीवारि सुस्ता-५ मा रहेको बिपी मावि बलिनगरमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । उनका अनुसार यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।