काठमाडौं, असोज १० :

नेपाली काँग्रेसको संस्थापन इतर समूहका संयोजक डा शशांक कोइरालाले सवैलाई समेटेर महाधिवेशन प्रक्रिया अघि बढाइएको जानकारी दिए । शनिबार सम्पर्क कार्यालय चूनदेवीमा आयोजित पत्रकार सम्मेलनमा उहाले आगामी महाधिवेशन परीक्षाको समय भएको भन्दै महाधिवेशनले पार्टीको भविष्यको बाटो देखाउने धारणा राखे। काँग्रेस बलियो विचार भएको पार्टी भएकोले जोशका साथ अघि बढ्न खोजिएको उनको भनाइ छ ।

त्यस्तै काँग्रेस नेता डा प्रकाश शरण महतले एकताको महाधिवेशन सम्पन्न गर्न ढोका खुला गरेर संवाद गरेपनि सफल नभएकोले पूर्वनिर्धारित तालिका अनुसार नै महाधिवेशन प्रक्रिया अघि बढ्ने बताए ।

पत्रकार सम्मेलनमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशिल सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ ।  महाधिवेशनका लागि ७ लाख ८३ हजार ८३६ जना पार्टी क्रियाशिल अद्यावधिक गरिएको र जसमध्ये ५ लाख ७३ हजार २६९ जना पुराना तथा २ लाख १० हजार ५६७ जना नयाँ सदस्य रहेको सदस्यता व्यवस्थापन समितिका संयोजक किरण राज शर्मा पौडेलले जानकारी दिए।

त्यस्तै उनले १५ गते हुने वडा अधिवेशनसँगै महाधिवेशनको प्रक्रिया सुरु हुने समेत बताए ।