अविरल वर्षाका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गका सडक खण्डमा सवारी आवागमन सहज बन्दै गएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार सूचना जारी गर्दै थप पहिरो तथा अवरोध नआएमा आज दिउँसो १ बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने छन् ।
हाल पहिरो तथा सडक भासिएका स्थानमा अवरोध हटाउने कार्य भइरहेको र हाल एकतर्फी रूपमा सवारी आवागमन सञ्चालनमा रहेको कार्यालयले जनाएको छ । विभिन्न स्थानमा पहिरो तथा सडक भासिएर पृथ्वी राजमार्गमा आवागमनमा अवरोध भएको थियो ।
वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले जुनसुकै समयमा पहिरो झर्न सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ।
सवारी चालक,यात्रु तथा सर्वसाधारणलाई सावधान पूर्वक यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।
सवारी चलाउँदा प्रचलित ट्राफिक नियम तथा सडक अनुशासन पूर्ण रूपमा पालना गर्न समेत सबैमा आग्रह गरिएको छ।