निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा पुरिएका तीन मजदुरमध्ये दुई जनाको मृत्यु भएको छ भने अर्का पुरिएका एक मजदुरको घाइते अवस्थामा उद्धार गरिएको छ ।
आज बिहान करिब ७:३० बजेको समयमा काप्रा–बोहरागाउँ छापाखानी प्यूठान सडकखण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका २८ वर्षीय लाल बहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसार्इंले जानकारी दिए ।
पुरिएकामध्ये दुई जनाको उद्धार गर्ने क्रममा घटनास्थलमा नै मृत्यु भएको छ भने रोल्पाका कृष्ण घर्ती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याइएको छ ।
घाइतेको उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको निसीखोला गाउँपालिका–३ का वडाअध्यक्ष रमेशविक्रम शाहीले जानकारी दिए । चालक भद्र मल्लले चलाएको लु१क ३४४६ नम्बरको जेसिबीले बाटो स्तरोन्नति गर्ने क्रममा अचानक माटोको ढिस्को खस्दा काम गरिरहेका मजदुर पुरिएका थिए ।