नेपाली काँग्रेसले १५ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको छ ।
नेपाली काँग्रेसको संशोधित विधान पारित भएपछि सोही अनुसार उम्मेदवारी मनोनयन तालिका सार्वजनिक गरिएको हो । काँग्रेसले आफ्नो पार्टीको वेबसाइटमार्फत १५औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नामावली प्रकाशित गरेको हो ।
तालिका अनुसार बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन फारम वितरण सुरु हुने र मनोनयन दर्ता भने दिउँसो ४ बजेसम्म गर्न पाइने समय तोकिएको छ । मङ्गलबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन फारम वितरण हुनेछ । यसअघि बिहान ९:३० बजेसम्म मतदाता नामावलीमा दाबी विरोधको समय तोकिएको छ ।
लगत्तै बिहान १०:३० बजेसम्म उजुरीमा जाँचबुझ गरिने भएको छ । ११:३० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने भएको छ । भातृ तथा सुभेक्षुक संगठनबाट सिफारिस भएका र सभापतिबाट मनोनित सबै जनाको नाम आफ्नो गृह जिल्लामा थपिने व्यवस्था गरिएको छ ।
१८ असोजदेखि काठमाडौंमा सुरु भएको महाधिवेशन अन्तर्गत निर्वाचन गर्ने प्रयोजनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रथम नामावली प्रकाशित गरिएको वेबसाइटमा उल्लेख छ ।
छुट हुन गएका नामावली अन्तिम नामावली प्रकाश गर्दा समावेश गरिने काँग्रेसले जनाएको छ ।
सार्वजनिक नामावली अनुसार प्रतिनिधिहरूको संख्या ७ हजार ११४ रहेको छ ।