यस वर्षको ‘मीना दिदी पुरस्कार–२०८३’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई प्रदान गरिने भएको छ। भोटेकोशी बाढीका बेला आपत्कालीन अवस्थामा विद्यार्थीहरूको जीवनरक्षाका लागि एक शिक्षकका रूपमा खेलेको महत्त्वपूर्ण भूमिकाको सम्मान गर्दै उनलाई यस वर्षको पुरस्कारका लागि छनोट गरिएको पुरस्कार समितिका सदस्यसचिव उमानाथ पोखरेलले जानकारी दिए।
रसुवाको उत्तरगया गाउँपालिका–५ निवासी आचार्यले विसं २०८३ भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका क्रममा विद्यार्थीहरूको ज्यान जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। विपद्को कठिन परिस्थितिमा विद्यार्थीहरूको सुरक्षाका लागि उनले देखाएको साहस, जिम्मेवारीबोध र मानवीय संवेदनशीलतालाई पुरस्कार छनोटको प्रमुख आधार बनाइएको समितिले जनाएको छ। पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ।
शिक्षकको दायित्व कक्षाकोठामा पठनपाठन गराउनुमा मात्र सीमित नरही संकटका बेला विद्यार्थीहरूको जीवनरक्षा गर्नु पनि हो भन्ने उदाहरण आचार्यले प्रस्तुत गरेकी छन्। आपत्कालीन अवस्थामा विद्यार्थीहरूको जीवनलाई प्राथमिकता दिँदै उनले निर्वाह गरेको भूमिकाको कदरस्वरूप यस वर्ष उनलाई पुरस्कृत गर्न लागिएको हो।
समाजसेवी तथा प्राध्यापक आरती कार्की र मदन पुरस्कार विजेता साहित्यकार डा. नीलम कार्की निहारिकाले आफ्नी आमा स्वर्गीय मीनाकुमारी कार्कीको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन्। शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने एक जना महिला शिक्षकलाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्ने व्यवस्था छ।
महिलाहरूलाई औपचारिक शिक्षा प्राप्त गर्ने अवसर अत्यन्त सीमित रहेको समयमा मीनाकुमारी कार्कीले ग्रामीण क्षेत्रमा शिक्षाको विकास र विस्तारका लागि महत्त्वपूर्ण योगदान पुर्याएकी थिइन्। विसं २०२३ सालदेखि शिक्षण पेसा सुरु गरेकी उनले अर्घाखाँची र पाल्पाको झडेवास्थित किसान माध्यमिक विद्यालयमा गरी २७ वर्ष अध्यापन गरेकी थिइन्।
छोरीहरूलाई विद्यालय पठाउन हिचकिचाउने तत्कालीन समाजमा उनी घरघरमा पुगेर अभिभावकहरूलाई छोरीहरू पनि पढ्नुपर्छ भन्दै सम्झाउने र उत्प्रेरित गर्ने गर्थिन्। पाल्पाको किसान माध्यमिक विद्यालयमा ‘मीना दिदी’का नामले परिचित उनको सम्मानमा विद्यालयका भूतपूर्व विद्यार्थीहरूले उनी जीवित छँदै ‘मिना दिदी’ नामक पुस्तकसमेत प्रकाशन गरेका थिए। उनको निधन २०७८ साल माघ २१ गते भएको थियो।
गत वर्ष पहिलोपटक ‘मीना दिदी पुरस्कार’ बैतडीकी पहिलो महिला शिक्षिका कृष्णा विष्टलाई प्रदान गरिएको थियो। ग्रामीण क्षेत्रमा शिक्षाको विस्तार, बालिका शिक्षा, महिला सशक्तीकरण, छाउपडी प्रथा न्यूनीकरण तथा सामाजिक रूपान्तरणमा पुर्याएको योगदानको सम्मान गर्दै उनलाई पुरस्कृत गरिएको थियो।