बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार कला/साहित्य

डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालयको स्मारिका लोकार्पण

ऐतिहासिक सामग्री संरक्षण र अनुसन्धान प्रवर्द्धनमा पुस्तकालयको भूमिका
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ६ घण्टा अगाडि प्रकाशित
डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालयको स्मारिका लोकार्पण
काठमाडौं, असोज २८ :

डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिको आयोजनामा स्मारिका लोकार्पण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

बुधबार काठमाडौैमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले नेपालको आधुनिक इतिहासमा डिल्लीरमण कल्याणी रेग्मीको योगदान, पुस्तकालयको महत्व तथा स्मारिकामा समेटिएका लेखरचनाबारे चर्चा गरेका थिए। साथै उनीहरूले स्मारिकामा समेटिएका लेखरचनाले इतिहास, साहित्य, अनुसन्धान र पुस्तकालयको महत्वलाई उजागर गरेको धारणा व्यक्त गरेका थिए।

‘यो पुस्तकालय केवल किताब राख्ने ठाउँ होइन, नेपालको आधुनिक इतिहासको जीवित संग्रहालय हो’ भन्ने भावनासहित पुस्तकालयमा रहेका ऐतिहासिक सामग्रीको संरक्षण र तिनको भावी पुस्तासम्म हस्तान्तरणको आवश्यकतासमेत कार्यक्रममा औँल्याइएको थियो।

पुस्तकालयकी अध्यक्ष प्रा. डा. वीणा पौडेलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आतिथ्यता ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति युरिका ताम्राकारले गरेकी थिइन्।

कार्यक्रममा प्रा. डा. रामप्रसाद दाहाल, प्रा. डा. प्रेम खत्री, प्रा. डा. मोहन लोहनी,  प्रा. डा. सुमन ढकाल, प्रा. डा. श्रीराम उपाध्यायलगायत विभिन्न विषयका अनुसन्धानकर्ता, पुस्तकालय प्रमुख तथा पुस्तकालय विकास समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो।

ऐतिहासिक पुस्तक, पाण्डुलिपि र तस्बिरको संरक्षणसँगै विद्यार्थी तथा अनुसन्धानकर्तालाई अध्ययन र अनुसन्धानका लागि सहज वातावरण उपलब्ध गराउनु पुस्तकालयको महत्वपूर्ण दायित्व रहेकोमा वक्ताहरूले जोड दिएका थिए। साथै उनीहरुले डिल्लीरमण कल्याणी रेग्मीको ऐतिहासिक तथा बौद्धिक योगदानको चर्चा गर्दै पुस्तकालयलाई ज्ञान, अनुसन्धान र पठन संस्कृतिको विकास गर्ने महत्वपूर्ण संस्थाका रूपमा व्याख्या गरेका थिए। सो अवसरमा सहभागीहरूबीच विजयादशमी तथा शुभ दीपावलीलगायत चाडपर्वको  शुभकामना आदानप्रदान गरिएको थियो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार