नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सञ्चालन हुदैछ ।
आज दिउँसो २:३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अभियान उद्घाटन गरिने सो पार्टीले जनाएको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सह संयोजक माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी असोज २३ गते बसेको बसेको नेकपाको केन्द्रीय संयोजन समिति बैठकले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानसँगै आगामी स्थानीय तह निर्वाचन अगाडि वडा र पालिका अधिवेशन गर्ने निर्णय गरेको छ ।
‘राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको रक्षा, जनजीविका तथा पार्टी समायोजन, सदस्यता नवीकरण र सङ्गठन सुदृढीकरणका लागि राष्ट्रिय राजनीतिक तथा सङ्गठनात्मक विशेष अभियानका रूपमा राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ’ निर्णयमा भनिएको थियो ।