बुधबारदेखि नेपालको मौसममा बदली हुने र बिहीबारदेखि वर्षाको प्रभाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका मौसमविद् रोजन लामिछानेले बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत हुने क्रममा रहेकाले बुधबारदेखि नै बादल लाग्ने र केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना रहेको बताए ।
हिमाली भेगका केही स्थानमा हिमपात पनि हुन सक्ने उनको भनाइ छ । लामिछानेका अनुसार बिहीबार रातिदेखि शुक्रबार र शनिबार दिउँसोसम्म नेपालमा प्रणालीको प्रभाव बढी देखिनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पूर्वी भूभागमा वर्षाको प्रभाव पर्ने भए पनि पश्चिमतर्फ यसको असर कम हुने अनुमान छ ।
धान काट्ने समय भएकाले बेलैमा साधानी अपनाउन पनि उनले सुझाव दिए । बिहीबारदेखि शनिबारसम्म प्रभाव बढी देखिने भएकाले त्यो समयअघि नै धान थन्क्याए राम्रो हुन्छ वा प्रभाव सकिएपछि योजना बनाउनुहोला । यो अवधिमा हिमाली जिल्लामा पैदलयात्री र पर्यटकले सावधानी अपाउनुपर्ने हुन्छ,' उनले भने, 'गएकाहरु पनि सुरक्षित स्थानमा आएर बस्नुहोला ।
बिहीबारदेखि सबैजसो ठाउँमा भारी वर्षाकै सम्भावना रहेको छ,' सामाजिक सञ्जालमा भिडियोमार्फत उनले भने, 'सुदूरपश्चिम र कर्णालीमा असर कम भए पनि लुम्बिनीका पूर्वी भूगागदेखि कोशीसम्म नै भारी वर्षाको सम्भावना देखिन्छ । प्रभावित ५ प्रदेशका २९ जिल्ला जोखिममा रहने पनि उनले विश्लेषण गरेका छन् ।
यसबाट खेतमै रहेको पाकेको धान र काटेर सुकाउन राखेको बालीमा क्षति पुग्न सक्ने भएकाले किसानलाई बेलैमा तयारी गर्न उनले आग्रह गरेका छन् ।
यस्तो छ पाँच दिनको मौसमः
२०८३ कार्तिक ८ गते (आइतबार)
दिउँसोः देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा / हिमपातको सम्भावना छ ।
रातिः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । देशको तराई भू-भाग, उपत्यका तथा खाँचहरूमा बिहानपख केही स्थानमा हुस्सु / कुहिरो लाग्नेछ ।
२०८३ कार्तिक ९ गते (सोमबार)
दिउँसोः देशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । देशको पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
रातिः कोशी प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । देशको तराई भू-भाग, उपत्यका तथा खाँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।
२०८३ कार्तिक १० गते (मंगलबार)
दिउँसोः कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ । देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा / हिमपातको सम्भावना छ ।
रातिः कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
२०८३ कार्तिक ११ गते (बुधबार)
देशभर साधारणतया बादल बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
२०८३ कार्तिक १२ गते (बिहीबार)
देशभर साधारणतया बादल बादल लाग्नेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान, लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा / हिमपातको सम्भावना छ । कौशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा/ हिमपातको सम्भावना छ ।
चेतावनी तथा परामर्शः
कार्तिक १२ गते (बिहीबार) कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान, लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/ हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा/हिमपातको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूको दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सैंडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता साथै विभागको पछिल्लो सूचनामा अद्यावधिक हुन अनुरोध गरिएको छ ।