इजरायलको निर्वाचन परिणामबारे अहिले नै ठोस निष्कर्ष निकाल्न कठिन देखिएको छ। दुईवटा एक्जिट पोलमा गादी आइजेनकोटको गठबन्धन र बेन्जामिन नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा देखिएको छ भने तेस्रो पोलले प्रधानमन्त्री नेतान्याहुको पक्षलाई झिनो अग्रता दिएको छ। तर, दुवै पक्षले बहुमत हासिल गर्न नसक्ने संकेत देखिएको छ।
नवगठित याशार पार्टीका नेता गादी आइजेनकोट नेतान्याहुलाई सत्ताबाट हटाउने साझा लक्ष्यसहित बनेको विपक्षी दलहरूको समूह ‘चेन्ज ब्लक’ का प्रमुख नेतामध्ये एक हुन्।
एक्जिट पोलहरूले नेतान्याहुको लिकुड पार्टी इजरायली संसद्मा सबैभन्दा ठूलो एकल दल बन्ने सम्भावना पनि देखाएका छन्।
स्थानीय समयअनुसार मध्यरात (ग्रिनविच समयअनुसार राति १० बजे) देखि आधिकारिक निर्वाचन परिणाम सार्वजनिक गर्न थालिएको छ। यद्यपि, मतगणना पूरा हुन केही दिन लाग्न सक्नेछ।
निर्वाचनपछि विभिन्न दलबीच लामो वार्ता हुने सम्भावना छ। सरकार गठनका लागि अनेक विकल्प खुला रहेकाले सत्ता समीकरण टुङ्गिन केही हप्ता वा महिनासमेत लाग्न सक्ने बीबीसीले उल्लेख गरेको छ ।
इजरायलको संसद् ‘नेसेट’ का सबै १२० सिटका लागि निर्वाचन भएको हो। तर, इजरायलमा कुनै पनि दलले अहिलेसम्म एक्लै बहुमत हासिल गर्न सकेको छैन। त्यसैले विगतमा सरकारहरू विभिन्न दलको गठबन्धनबाट गठन हुँदै आएका छन्।
सन् २०२३ अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणपछि इजरायलमा पहिलोपटक संसदीय निर्वाचन भएको हो। निर्वाचन अभियानका क्रममा कुन-कुन प्रमुख मुद्दाहरू उठेका थिए भन्ने विषय पनि अहिले चर्चामा छ।