नगर क्षेत्रभित्रका होर्डिङ बोर्ड तथा सार्वजनिक स्थलमा गरिएका विज्ञापनको नियमन गरी राजस्व संकलन गर्ने तयारीमा कागेश्वरी मनोहरा नगरपालिका जुटेको छ।
सोमबार नगरपालिकाले विज्ञापन क्षेत्रको सम्भावित राजस्व स्रोतको पहिचान, कानुनी आधार र संकलन प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्य सम्बन्धित विज्ञसँग छलफल समेत गरेको छ।
विज्ञापन बोर्डका निवर्तमान कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईँलाई आमन्त्रण गरी स्थानीय तहमा विज्ञापनसम्बन्धी कानुनी व्यवस्था, ऐन, नियम तथा प्राविधिक पक्षबारे जानकारी लिइएको छ।
त्यस अवसरमा हुमागाईँले होर्डिङ बोर्ड स्थापना गर्दा प्राविधिक तथा इन्जिनियरिङ परीक्षण अनिवार्य हुनुपर्ने बताए। विशेषगरी भवनको छतमा राखिने विज्ञापन बोर्डले भवनको भारवहन क्षमता, पिलर तथा अन्य संरचनामा पार्न सक्ने प्रभावको परीक्षण गर्नुपर्ने बताए। विज्ञापन बोर्डको नियमन राजस्व संकलनसँगै नागरिकको सुरक्षासँग पनि प्रत्यक्ष जोडिने उनले उल्लेख गरे।
त्यसैगरी,उनले सार्वजनिक तथा निजी सवारीसाधनमा गरिने विज्ञापनबाट पनि स्थानीय तहले राजस्व संकलन गर्न सक्ने बताए। काठमाडौं महानगरपालिकाले सवारीसाधनमा विज्ञापनको अनुमति दिएर राजस्व संकलन गरिरहेको उदाहरण प्रस्तुत गर्दै यसलाई व्यवस्थित बनाउन सकिने सुझाव दिए।
चलचित्र प्रदर्शन, नाटक, मेला तथा ठूला सांगीतिक कन्सर्टजस्ता कार्यक्रमलाई पनि स्थानीय तहको कानुनी व्यवस्थाअनुसार अनुमति तथा नियमनको दायरामा ल्याउनुपर्ने विषय उठाइएको थियो। नगरपालिकाका आफ्नै सूचना तथा सार्वजनिक हितका सन्देशलाई डिजिटल विज्ञापन बोर्डमा निश्चित स्थान उपलब्ध गराउने विषयमा समेत छलफल भएको थियो।विज्ञापन क्षेत्रको नियमन र राजस्व चुहावट नियन्त्रणका लागि स्थानीय तथा प्रदेश सरकारको भूमिका महत्त्वपूर्ण हुने हुमागाईँले बताए।
सो अवसरमार नगरप्रमुख उपेन्द्र कार्कीले होर्डिङ बोड विज्ञापनलाई नगरपालिकाको आम्दानीको सम्भावित स्रोतका रूपमा विकास गर्न सकिने बताए। उनले विज्ञापन बोर्डले तयार पारेको ऐन तथा कानुनी व्यवस्थाबारे चासो राख्दै नगर क्षेत्रका होर्डिङ बोर्डबाट बहाल कर तथा अन्य कानुनसम्मत राजस्व संकलन गर्न सकिने सम्भावना देखिएको उल्लेख गरे।
‘अहिले हामीले अरू केही गर्न सकेनौँ भने पनि होर्डिङ बोर्डबाट बहाल कर लिन सकिने अवस्था देखियो। निजी जग्गामा कसैले होर्डिङ बोर्ड राखेको छ भने त्यसको सम्झौता खोजेर कानुनअनुसार बहाल कर लिन सकिन्छ। विशेषगरी व्यावसायिक क्षेत्रमा रहेका यस्ता संरचनाबाट राजस्व संकलन गर्न सकिने सम्भावना छ,’ उनले भने।
नगरप्रमुख कार्कीले यस विषयमा नगरपालिकाको राजस्व शाखालाई आवश्यक अध्ययन तथा कार्ययोजना तयार गर्न निर्देशन दिँदै विज्ञापन क्षेत्रबाट प्राप्त हुन सक्ने आम्दानीलाई व्यवस्थित रूपमा संकलन गर्नुपर्नेमा जोड दिए।
‘यो ठूलो एउटा स्रोत हो। यसलाई पानी बगेजस्तो खेर जान नदिऔँ। व्यवस्थित रूपमा स्रोतको पहिचान र संकलन गरेर नगरपालिकाको विकास निर्माणमा खर्च गर्न सक्नुपर्छ,’ उनले भने।
नगरपालिकाको राजस्व शाखाले आयोजना गरेको उक्त छलफलमा उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साह, विभिन्न वडाका वडाध्यक्ष तथा नगरपालिकाका सबै शाखाका प्रमुखहरूको उपस्थिति थियो।
सहभागीहरुले होर्डिङ बोर्ड, सवारीसाधनमा गरिने विज्ञापन, चलचित्र, नाटक, मेला तथा सांगीतिक कार्यक्रममार्फत राजस्व संकलन गर्न सकिने सम्भावनाबारे चर्चा गरेका थिए ।