नेपाली कांग्रेसले पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले सरकारले किस्ताकिस्तामा विभिन्न आरोप र विषय सार्वजनिक गरिरहेको आरोप लगाएको छ।
कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार पार्टीको समसामयिक राजनीतिक धारणा सार्वजनिक गर्दै पार्टी सभापति गगनकुमार थापालाई बदनाम गर्ने नियोजित प्रयास भइरहेको बताए। उनले सरकारले लगाएका आरोपको सामना गर्न र त्यसविरुद्ध कानुनी उपचार खोज्न पार्टी तयार रहेको स्पष्ट पारे।
सरकारले कांग्रेसमाथि लगाएका आरोप र सार्वजनिक भएका अडियोका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै कांग्रेसले आवश्यक परे कानुनी लडाइँमा समेत उत्रिने जनाएको छ।
उनले भने,‘कांग्रेसको वैधानिकताका सन्दर्भमा लगाइएका नियोजित आरोपहरूको स्वतन्त्र र निष्पक्ष छानबिन होस् भनेर पार्टीको पदाधिकारी बैठकले समेत निर्णय गरेको छ।’
शर्माले सरकारको कार्यशैली र पछिल्ला गतिविधिमाथि प्रश्न उठाउँदै सुशासन र जनजीविकाका विषयभन्दा प्रहरी नेतृत्व परिवर्तनमा केन्द्रित भएको टिप्पणी गरे।
ठूलो आशा र विश्वासका साथ मतदाताले दिएको मतलाई सरकारले सही ढंगले प्रयोग नगरेको उनको आरोप थियो ।
शर्माले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की हटाइएको विषयमा आएको सरकारका प्रवक्ता र रास्वपाका प्रवक्ताको फरक फरक अभिव्यक्तिप्रति आपत्ति जनाए ।