बुधबार, २५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

‘टाइम’को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा समेटिएका अर्थमन्त्री वाग्लेलाई रास्वपाको बधाई

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ८ घण्टा अगाडि प्रकाशित
‘टाइम’को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा समेटिएका अर्थमन्त्री वाग्लेलाई रास्वपाको बधाई
काठमाडौं, कात्तिक २४ :

अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई बधाई ज्ञापन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई बधाई ज्ञापन गरेको हो । अमेरिकी पत्रिका ‘टाइम’को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा उनलाई समेटिएकामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई बधाई ज्ञापन गरेका हुन्। उनी सो पार्टीको उपसभापति हुन् ।

महामन्त्री आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा वाग्लेले रसुवा र भोटेकोशी बाढीपश्चात् जलवायु न्यायका लागि विश्व मञ्चमा गरेको पैरवी, जलवायु वित्त परिचालनका लागि पहल र स्रोत व्यवस्थापन, अन्तरराष्ट्रिय प्रणालीगत सुधारलगायतका क्षेत्रमा लिएको नेतृत्व र अग्रसरता नेपालको लागि उल्लेखनीय रहेको बताइएको छ ।

“हिमाली तथा पर्वतीय क्षेत्रको जोखिम, जलवायुजन्य विपद् र त्यसबाट प्रभावित समुदायका विषयलाई अन्तरराष्ट्रिय मञ्चमा जलवायु न्याय, जलवायु वित्त तथा हानि–नोक्सानीको न्यायोचित सम्बोधनका लागि उहाँले गर्नुभएको पैरवीले नेपालको अवस्थाका बारेमा जानकारी दिन तथा नेपालको आवाज विश्वसामु पुर्याउन योगदान गरेको छ”, महामन्त्रीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
 
रास्वपाले वाग्लेको प्रयासको सम्मानमात्र नभई जलवायु सङ्कटले प्रत्यक्ष असर पारिरहेका नेपालजस्ता देश र समुदायका सरोकारप्रति विश्वको ध्यानाकर्षण भएको जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार