दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ। बुधबार भएको खेलमा हेलिसा गुरुङको अविजित अर्धशतक प्रेरित बागमतीले सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गरेको हो।
सुदूरपश्चिमले दिएको ११३ रनको लक्ष्य बागमतीले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। बागमतीको जितमा ओपनर हेलिषा गुरुङले सर्वाधिक ५५ रन बनाइन्। उनले ५१ बलको सामना गर्दै ६ चौका प्रहार गरिन्।
त्यस्तै लक्ष्मीमाया रुम्बा लामाले २०, कामना श्रेष्ठले १३, विपिसा शाहीले १० र सेविका कुमारी यादवले ३ रनको योगदान दिइन्। सुदूरपश्चिमका अनु कडायत र स्नेहा महराले एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित खेलमा ७ विकेट गुमाउँदै ११२ रन बनाएको थियो। उसका लागि ओपनर मनिषा बोहराले ३० र स्नेहा महराले २२ रन जोडिन्। अनु कडायतले १५ बलमा एक चौका र एक छक्कासहित अविजित २३ रन बनाउँदा कप्तान ऋतु कनौजियाले १४ बलमा अविजित १५ रनको योगदान दिइन्।
बलिङतर्फ बागमतीकी कप्तान अस्मिना कर्माचार्यले तीन विकेट लिइन्। संस्कृति फुयाँल र लक्ष्मीमाया रुम्बा लामाले एक–एक विकेट हात पारे। अविजित ५५ रन बनाउँदै टोलीलाई जित दिलाएकी हेलिसा प्लेयर अफ द म्याच घोषित भइन्।