
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ-तराई-मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा-धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’गर्नुभएको छ ।
मकवानपुरको बकैया गाउँपालिका-१२ धेद्रेमा आज एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौँ-निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ ब्रेक थ्रु गर्नुभएको हो ।
निजगढ-कामाठाडौँतर्फको एक दशमलव छ सय ५३ किमी धेद्र्रे सुरुङ भने गत जेठ ११ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । धेद्रे सुरुङ छिचोलिएसँगै प्याकेज नं दुईअन्तर्गतका सबै सुरङ खोल्ने काम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे प्रधानमन्त्री ओलीलाई अवगत गराउँदै आयोजनाको भौतिक प्रगति ३५ दशमलव ९८ प्रतिशत रहेको जानकारी दिनुभयो ।
लेनडाँडामा रहेको निजगढ-काठमाडौँतर्फको एक दशमलव ६ सय १२ किमी र काठमाडौँ-निजगढतर्फको एक दशमलव ६ सय ३३ किमी सुरुङ यसअघि नै खनिसकिएको छ । द्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ ।
प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सडकको लम्बाइ ७० दशमवल नौ सय ७७ किलोमिटर छ । द्रूत मार्ग पहाडी भू-भागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ । द्रूतमार्गमा १० दशमवल तीन सय नौ ९ किमी लम्बाइका ६ वटा सुरुङ बन्ने छन् ।
मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयले आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो ।
सुरुङ यसैवर्ष सम्पन्न गर्ने गरी काम भइरहेको नेपाली सेनाले जनाएको छ ।