काठमाण्डौँ , मंसिर ११ :

प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन जानुहुने भएको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवा र नेपालका लागि चिनियाँ राजदूत छन् सङसँग समेतको छलफलमा परराष्ट्र मन्त्रालयले भ्रमण तालिका तय गरेको हो । 

परराष्ट्र मन्त्रालयले तयार पारेको प्रस्तावित तालिका मन्त्रिपरिषद् बैठकले पारित गर्न बाँकी छ । बैठकले त्यसमा हेरफेर र कार्यक्रम थपघट पनि गर्नसक्ने जनाइएको छ ।

परराष्ट्र मन्त्रालयको प्रस्तावित भ्रमण तालिका अनुसार प्रधानमन्त्री ओली मंसिर १७ गते चीन प्रस्थान गर्नुहुने छ ।

१८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने तालिका रहेको छ ।

यसैगरी मंसिर १९ गते बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनुहुनेछ छ ।

सोही दिन नेपाली तथा चिनियाँ उद्योगी व्यवसायीसँगको छलफलमा सहभागी हुने र २० गते स्वदेश फर्किने गरी प्रधानमन्त्रीको भ्रमण तालिका प्रस्ताव गरिएको छ ।
चीन भ्रमणका क्रममा दुई देशबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ ।

प्रधानमन्त्री ओलीभन्दा केही दिन अगाडि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन जाने तयारी छ । 

यसैबीच, प्रधानमन्त्री ओलीले चीन भ्रमण जानुअघि आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरूसँग छलफल गर्दै हुनुहुन्छ । 

छलफलका लागि आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाइएको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।