कर्णाली, मंसिर १३ :

बहुप्रकोप पूर्वसूचना प्रणाली रणनीतिक कार्ययोजना तथा पूर्वकार्य प्रोटोकल निर्माण’ सम्बन्धी प्रदेशस्तरीय गोष्ठी सम्पन्न भएको छ ।
 
कर्णाली प्रदेशमा बाढीपहिरो, चट्याङलगायत बहुप्रकोपका विषयमा मङ्गलबार सरोकारवालाहरूको सहभागितामा वीरेन्द्रनगरमा गोष्ठी सम्पन्न भएको हो । 

सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले संविधानको अनुसूचीमा व्यवस्था गरिएको र ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण ऐन, २०७४’ लागू भइसकेकाले त्यसैका आधारमा विपद् जोखिम न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले आपतकालीन कार्यसञ्चालन केन्द्रलाई स्रोतसाधन सम्पन्न बनाउनुपर्ने बताउनुभयो । 

बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बस्तीहरू नदी तथा खोलाकिनार र भिरालो ठाउँमा भएकाले ती सबै बस्तीको व्यवस्थापन र विकासमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने योजना बनाउनुपर्नेमा जोड दिनुभयो । 

जिल्ला प्रशासनले सूचना प्रणालीलाई प्रभावकारी बनाएको भन्दै उहाँले विपद्बाट बच्न प्रत्येक बस्तीमा साइरन जडान गर्न सुझाव दिनुभयो ।

गोष्ठीका सहभागीले विपद् जोखिम न्यूनीकरण गर्न नदी तथा खोला किनारमा बस्दै आएका र छरिएका बस्ती व्यवस्थापन गर्नुपर्ने, सडक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने र जथाभावी डोजर लगाउने काम रोक्नुपर्ने सुझाव दिएका थिए । 

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्राक्टिकल एक्सनसँगको सहकार्यमा गोष्ठी आयोजना भएको हो ।