कैलाली, मंसिर १४ :

किशोरीहरूलाई  रक्तअल्पताबाट जोगाउन विद्यालयमा नै आइरन चक्की खुवाउने अभियान टीकापुरमा जारी छ । 

टीकापुर नगरपालिकाले नगरका सबै विद्यालयमा किशोरावस्थाका छात्रालाई आइरन चक्की खुवाउने अभियान थालेको हो । 

दश वर्षमाथिका सबै किशोरीलाई आइरन चक्की र जुकाको औषधि खुवाइन्छ । सुरुमा विद्यालयमा आइरन चक्की खान डराउने किशोरीहरु आजभोलि नियमित खान थालेका छन् ।

सबै विद्यालयमा सरकारको पोषण कार्यक्रम अन्तर्गत पालिकाले विद्यालयकै सक्रियतामा यो अभियान सञ्चालन गरिरहेको टीकापुर नगरपालिका रामपुर सहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी दीपेन्द्र पनेरुले बताउनुभयो ।

विद्यालयमा आइरन चक्की खुवाए, नखुवाएको अनुगमन र सुपरीवेक्षण स्वास्थ्य संस्थाका प्रमुखले गर्ने जिम्मेवारी छ । टीकापुर- २ स्थित जनजागृति मावि सीतापुरमा तीन सय बढी किशोरीले आइरन चक्की खाँदै आएका छन् ।