काठमाण्डौँ, मंसिर १८ :

गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरिएको छ ।

मन्त्रीपरिषद्बाट पहिलो संशोधन भएको सो कार्यविधि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट औपचारिक रुपमा कार्यान्वयनमा आएको गृह मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदा आउँदा बिदाइ र स्वागतमा अन्र्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुने पदाधीकारीको संख्या कटौती गरिएको गृह मन्त्रालयका सुचना अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो ।

भीभीआईपी विदेश भ्रमणमा जाँदा विमानस्थलमा पदाधीकारीहरु उपस्थित हुनुपर्ने व्यवस्था लामो समयदेखि रहेपनि गृहमन्त्रीले गर्नुभएको पदाधिकारी उपस्थित हुनुपर्ने संख्या घटाउने प्रस्ताव चार दिन अघि मन्त्रीपरिषद्ले कार्यविधिको पहिलो संशोधन स्वीकृत गरेको छ । सुचना अधिकारी तामाङले भन्नुभयो–“ भीभीआईपीको स्वागत र बिदाइ व्यवस्थित र प्रभावकारी बनाउन संशोधन गरिएको हो ।

प्रस्ताव संशोधित कार्यविधि अनुसार राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीसहित १४ जना पदाधीकारी उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किदा उपराष्ट्रपति सहित २३ जना पदाधिकारी विमानस्थलमा उपस्थित हुने गरेका थिए ।
“अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्ति विदेश भ्रमण जाँदा र फर्किदा गरिने स्वागत र बिदाइलाई प्रभावकारी बनाउन कार्यविधि संशोधन गरिएको छ ।” उहाँले भन्नुभयो–“सुरक्षा व्यवस्थापन कार्यविधि–२०८०, पहिलो संशोधन भएको हो ।”

त्यसैगरी राष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा अन्र्तराष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधिकारीको संख्या पनि घटाइएको छ ।मिनी कारकेडसम्म यसअघि उपराष्ट्रपतिसहित १३ जना पदाधीकारी उपस्थित हुने व्यवस्थालाई कटौती गरेर ९ जना पदाधिकारीमा सिमित गरिएको छ ।

त्यसैगरी नयाँ कार्यविधि अनुसार अब उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा प्रधानमन्त्रीसहित १२ जना पदाधीकारी उपस्थित हुनुपर्ने व्यवस्थालाई संशोधन गर्दै सो संख्या घटाएर प्रधानमन्त्रीसहित ७ जना उपस्थित हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

त्यस्तै, उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधीकारी ७ बाट घटाएर ४ पुर्याइएको छ । अब उक्त चार जनामा प्रधानमन्त्री,परराष्ट्रमन्त्री,उपराष्ट्रपति कार्यालयका सचिब र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल उपस्थित हुनेछन् ।

त्यसैगरी संशोधित कार्यविधि अनुसार प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा विमानस्थलमा अब कार्यवाहक प्रधानमन्त्रीसहित १२ जना पदाधीकारी उपस्थित हुनेछन् ।
प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा यसअघि कार्यवाहक प्रधानमन्त्रीदेखि प्रमुख जिल्ला अधिकारीसम्म गरी २१ जना पदाधीकारी विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुनुपर्ने व्यवस्था थियो ।

त्यस्तै प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म कार्यवाहक प्रधानमन्त्रीसहित ६ जना पदाधीकारी उपस्थित हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि उक्त स्थानसम्म कार्यवाहक प्रधानमन्त्रीसहित ११ जना उपस्थित हुने व्यवस्था थियो ।

नयाँ कार्यविधिअनुसार अब प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष विमानस्थल जानुपर्ने छैन् । यसअघि राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा सभामुख र राष्ट्रिय सभा अध्यक्ष विमानस्थल पुग्नुपर्ने व्यवस्था थियो ।