काठमाण्डौं, मंसिर १८ :

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौंमा लिईएको बयान सकिएको छ ।

गत बिहिबार साँझ कास्कीबाट बयानका लागि काठमाण्डौं ल्याईएका सभापतिसंग शुक्रबार, हिजो र आज गरी तीन दिन बयान लिईएको छ ।  यो तीन दिनमा उनीसंग २० घण्टा भन्दा बढी बयान लिईएको छ ।  

बयानका क्रममा मुल र पुरक गरी ६५ वटा प्रश्नहरु सोधिएका थिए । ती प्रश्नहरुको प्रष्ट रुपमा आफुले जवाफ दिएको सभापति रविले बताएको उनका निकटले बताएका छन् । प्राप्त प्रमाणहरुका आधारमा सोधिएका प्रश्नहरुमा सहकारीमा ठगी हुने खालका  कुनै पनि प्रमाण प्रस्तुत गर्न नसकिएको समेत रविले बताएको उनीहरुले बताएका छन् ।

कार्तिक २ गते विभिन्न सहकारीको रकम अपचलन गरेको आरोपमा उनलाई पोखरा लगिएको हो । आज बयान सकिएसंगै भोली पुन कास्की लगिने बताईएको छ । कास्की फर्किएपछि फेरि सभापति लामिछानेलाई चितवन लगिनेछ । त्यहाँ पनि सहकारी सम्बद्ध छानविनका लागि जिल्ला अदालतले पक्राउ अनुमति दिएकाले चितवन लान लागिएको हो ।

चितवनमा पुर्व डीआईजी छविलाल जोशी र रविलाई समान कसुरमा छानविन भईरहेको छ । अहिले नेचर हव्स सम्बद्ध रामबहादुर खनालको बयान भईरहेको छ । उहाँहरुको वयान सकिएपछि रविलाई पोखराबाट चितवन लगिने भएको हो ।

चितवनपछि पर्साको हकमा पनि जिल्ला प्रहरी कार्यालय पर्साले सानो पाईला सम्बद्ध सहकारीको रकम अपचलन गरेको आरोपमा यस सम्बन्धि अनुसन्धानका लागि नियन्त्रणमा लिनुपर्ने कारण देखाउदै जिल्ला अदालत पर्साले पक्राउ पुर्जीको अनुमति देखाउदै पक्राउ गर्न आग्रह गरेको छ । दाबीका लागि प्रहरी जिल्ला अदालत पर्सा गईसकेको बताईएको छ । यसरी पाँच वटा सहकारीको अनुसन्धानका लागि पाँच वटा जिल्लामा लैजाने क्रममा अब पर्सा र चितवन लैजान बाँकी छ । काठमाण्डौं, कास्की र रुपन्देहीमा बयान सकिएको छ ।

यसरी पक्राउ गरी विभिन्न ठाउँमा बयानका लागि सभापति लामिछानेलाई लगिदा रास्वपाका कार्यकर्ता र स्वयं लामिछानेले भने राजनितिक प्रतिशोध राखेर पक्राउ गरिएको बताउदै आएका छन् । सो पार्टीले विरोध प्रदर्शन पनि गर्दै आएको छ ।