
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्दै उहाँहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई व्यापक बनाउनुपर्ने बताउनुभएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले काँग्रेस समता, न्याय र समावेशी लोकतन्त्रका पक्षमा सदैव लड्दै आएको उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसँगै अर्थपूर्ण सहभागिता आजको आवश्यकता रहेको बताउनुभयो ।
सभापति देउवाले दिवसका अवसरमा सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरू, उहाँहरूका परिवार तथा यस अभियानमा संलग्न सबैप्रति शुभकामना व्यक्त गर्नुभएको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने यस वर्षको नाराले समावेशी समाज निर्माणमा अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई थप सशक्त र प्रेरणादायी बनाउने उहाँले उल्लेख गर्नुभयो ।
सभापति देउवाले समावेशी विकासको प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूको योगदानलाई सम्मान गर्दै उहाँहरूका लागि समान अवसर, पहुँच र सम्मानजनक जीवनयापनको सुनिश्चितता सबैको साझा दायित्व भएको बताउनुभएको छ ।