काठमाण्डौँ , मंसिर २२ :

उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘विवाह पञ्चमी’ पर्वले सामाजिक र राष्ट्रिय एकतालाई प्रश्रय मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । 

विवाह पञ्चमीको सुखद अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सु- स्वास्थ्यका लागि शुभकामना व्यक्त गर्दै विभिन्न जाति र समुदायका मानिस सामूहिक रूपमा एकसाथ मिलेर ‘विवाह पञ्चमी’ पर्व मनाउनुले सामाजिक र राष्ट्रिय एकतालाई प्रश्रय मिल्ने विश्वास व्यक्त गर्नुभएको हो । 

विवाह पञ्चमीले भगवान् श्रीराम र माता सीताको दिव्य विवाहको सम्झना गराउँदै प्रेम, आदर, सदाचार, सत्कार, विश्वास र सद्भावको भावनालाई उजागर र अनुशरण गर्नमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

परापूर्वकालदेखि यसको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व एवं उपादेयता रहँदै आएको छ । विवाह पञ्चमी मनाउने परम्परा, विधि, विधान र अनुष्ठान मौलिक छन् । 

“विवाह पञ्चमीलाई समाजमा सत्यको आदर्शहरूलाई प्रोत्साहित गर्ने अवसरका रुपमा लिन सक्नु पर्दछ, यसले भगवान् राम र माता सीताको जीवनबाट प्रेरणा लिँदै हामीलाई पारिवारिक र सामाजिक जीवनमा नैतिक मूल्यहरू अवलम्बन गर्न अभिप्रेरित गर्न सकोस्”, उपराष्ट्रपति यादवले भन्नुभएको छ ।